यातायात मजदुरका समस्या सम्वोधन गर्ने सहमति

दाङ(तुलसीपुर)१७, चैत्र । दाङमा यातायात मजदुरहरुले उठाएका मागहरु सम्वोधन गर्न यातायात व्यवसायीहरु तयार भएपछि दाङमा बन्द भएको यातायात सेवा मंगलवार दिउँसोबाट सुरु भएको छ । यातायात मजदुरका समस्या समाधानमा व्यवसायीहरुले चासो नदेखाएको भन्दै मजदुरहरुले मंगलवार विहानैदेखि दाङमा अनिश्चितकालिन यातायात बन्द गरेका थिए । जसका कारण कुनै पनि यातायातका साधानहरु चल्न सकेका थिएनन् ।


यातायात मजदुरको आन्दोलनका कारण यातायात सेवा बन्द भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा भएको यातायात मजदुर र यातायात व्यवसायीविचको छलफलले मजदुरले उठाएका  तलबभत्ता नियमित रुपमा उपलब्ध गराउनुपर्ने, यातायात व्यवसायीहरुको सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयन गर्ने, नेपाल सरकार नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेका निर्णय कार्यान्वयनमा सहयोग गर्ने, कोरोना भाईरस विरुद्धको भ्याक्सिन यातायात मजदुरहरुलाई प्राथमिकतामा राखेर लगाउनेलगायतका मागहरु सम्वोधन गर्न व्यवसायीहरु तयार भएपछि बन्द रहेको यातायात सेवा दिउँसो १ बजेदेखि खुलेको थियो ।

ad


त्यसैगरी छलफलले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ४ वटा सम्वद्ध निकायको विशेष समिति गठन गरी १५ दिनभित्र रायसुझाव पेश गर्ने गरी विशेष समिति समेत गठन गरेको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुखको संयोजकत्वमा यातायात व्यवसायी, यातायात मजदुर र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई समितिमा राखेर समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । ‘यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि विभिन्न क्षेत्रलाई समेटेर विशेष समिति गठन गरेका छौ’–प्रमुख जिल्ला अधिकारी पौडेलले भने–‘समितिले अध्ययन गरेर समस्या उठाउने छ । त्यी समस्याहरु समाधानका लागि पहल गर्ने छौ ।’
लामो समयदेखि व्यवसायीहरुले यातायात मजदुरका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदुर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातयात मजदुर सघं दाङले संयुक्त रुपमा मंगलवारदेखि जिल्लामा यातायात बन्दको आह्वान गरेका थिए । यातायात मदजुरहरुको बन्दका कारण मंगलवार विहानैदेखि जिल्लाबाट लामो दुरी तथा जिल्लाभित्रका छोटो दुरीका कुनै पनि सवारीसाधनहरु चल्न सकेका थिएनन् । जसले गर्दा सर्वसाधारण जनताले दु.ख पाएका थिए ।

ad


छलफलमा प्रमुख जिल्ला अधिकारीसहित दाङका प्रहरी प्रमुख गणेश चन्द, नेपाल यातायात व्यवसायी महासंघका भरतनाथ योगी, त्रिसिद्धेश्वरी राप्ती प्रालीका अध्यक्ष सरेश हमाल, यातायात अम्विकेश्वरी सार्वजनिक राष्ट्रिय यातायात प्रालिका अध्यक्ष ज्ञानबहादुर बस्नेत र प्रशासनिक सचिव घनश्याम बस्नेत, नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाल, राप्ती यातायात सेवा प्रालिका महासचिव महेनद्र वलीलगायतका विभिन्न यातायात व्यवसायीहरुको छलफलमा सहभागीता रहेको थियो । 


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु