आइसियु बेड नपाउँदा कोरोना संक्रमितको घरमै मृत्यु भयो

३० -असोज ,बुटवल। रुपन्देहीमा एक संक्रमितले आइसियु बेड नपाउँदा ज्यान गुमाएका छन्। रुपन्देहीको देवदह नगरपालिका–७ का गंगाधर भट्टराइको मृत्यु भएको हो। गत २८ गते कोरोना पोजेटिभ देखिएका उनी रुपन्देहीका कोरोना अस्पतालहरुमा बेड खाली नहुँदा घरमै बस्न बाध्य थिए।

शुक्रबार बिहान र बिहीबार पनि दुईजना व्यक्तिको आइसियु बेड नपाएका कारण मृत्यु भएको थियो। उनको शुक्रबार बिहान घरमै मृत्यु भएको मृतकका कान्छा छोरो होमनाथ शर्माले बताए। ‘कोरोना अस्पतालमा बेड पाइएन’ शर्माले भने, ‘बिरामी बुवाले दुःख पाएर बित्नुभो।’  उनको परिवारले अस्पतालमा बेडको व्यवस्था गर्नका लागि स्थानीय नेतादेखि देवदह नगरपालिका र बुटवल उपमहानगरका मेयरसम्मलाई फोन गरेर अनुरोध गरेको भएपनि बेड नपाइएको उनले सुनाए।  धेरै ठाउँ गुनासो सुनाएपनि आफुहरुको कुरा कहीँकतैबाट वास्ता नभएको उनले बताए।

ad

उनको परिवारलाई बुटवल र भैरहवाका अस्पतालहरुले बिरामीले बेड भरिएको हुँदा अस्पतालमा बिरामीलाई नल्याउन र घरमै राख्न भनेका थिए। ‘उपचारको लागि लैजाने भए दाङको बेलझुण्डी अस्पतालमा लैजानसक्ने’ जवाफ अस्पतालहरूले दिएका थिए।  ‘बुवाको उमेर त बढी नै हो’ शर्माले भने, ‘उहाँमा दीर्घ रोग थिएन।’ 

ad

कोरोना पोजेटिभ देखिएपछि श्वास फेर्नका लागि केही अप्ठ्यारो भएकोमा गएको राति १२ बजेदेखि भने बुवा आत्तिएको उनले बताए। ‘रातिदेखि श्वास फेर्न गाह्रो भयो’, उनले भने, ‘अस्पतालको बेड पाएको भए बुवाले त्यति कष्ट त सहनुपर्ने थिएन।’

ad

आइसियु बेड पाएको भए बुवा बाँच्ने उनको दाबी छ। अस्पतालमा उपचारको क्षमता नभएका कारण आफुहरु बावु गुमाएर टुहुरो भएको र अरु छोराछोरीहरु टुहुरो हुन नपर्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए।    मृत्युपछि नेपाली सेनाले गंगाधर भट्टराईको शब घरबाट उठाएको छ। 

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु