आज तिज : घरमै बसी शिवको ध्यान गर्न आग्रह

तीज फाइल फोटो


दाङ्ग (तुलसीपुर)- ५ भदौ ।
समय र परिस्थितिले यो बर्षको तीजलाई नेपाली नारीहरुले यसरी नै स्वागत गरिरहेका छन् । पोहोरसालको जस्तो पर्वको रमाइलोलाई कोरोना भाइरसले चुडेर लगेको छ । पर्वमा रमाउनेभन्दा जोगिने चिन्ताले चेलीहरुलाई निराश बनाएको छ । त्यसो त धेरै चेलीहरु यो बर्षको तीजमा माइत जानसमेत पाएका छैनन् । जिल्लाभित्रै माइती भएका र आफ्नो सवारीसाधन भएका बाहेकका चेलीहरुलाई तीजमा माइज जानसमेत त्यति सहज छैन ।

ad

तीज फाइल फोटो

त्यसमा पनि भन्ट्याङ-भुन्टुङ छोराछोरीलाई कोखिलोमा च्यापेर माइत जानु निकै कठिन अवस्था पनि छ । पर्वहरु जति नजिकिँदै छन्, विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ को संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ । पोहोर सालको तीजको अघिल्लो दिन घरमा खुट्टा टेक्ने स्थान समेत हुन्थेन, यसपालि भने त्यत्ति भीडभाड गरी दर खाने अवस्थासमेत रहेन’, तुलसीपुर उपमहानगरपालिका फोर्टिनाइनका अभिभावक धर्म केसीले भने । भीडभाड बढाएर संक्रमणको जोखिम बढाउनुभन्दा यो साल कोरोनाबाट बाँचे अर्को साल धुमधामका साथ तिज मनाउन पनि छोरीहरुलाई आग्रह गरेको पनि उनले बताए ।

ad
तीज फाइल फोटो
तीज फाइल फोटो


तुलसीपुर उपमहानगरपालिका-१८ दूधरासका बीरेन्द्र खड्काको घरमा पनि यो बर्ष तीजमा दर खाने रौनक छैन । कोरोनाको कहरका कारण सबै चेलीहरु जम्मा हुने अवस्था नरहेपछि अतितको तीजलाई स्मरण गर्दै तीज पर्वलाई स्वागत गर्दै विदाइ गर्ने सोचमा खड्का रहेका छन् । उनीहरु त अभिभावकका नमुना पात्र मात्रै हुन्, यो बर्षको तीजमा धेरैका घर-आँगनमा मादलको आवाजसमेत सुनिँदैन । क्यासेट घन्केको आवाज पनि छैन । कारण स्थानीय तहले पनि पर्वका नाममा धेरै भीडभाड नगर्न स्थानीयबासीहरुलाई अनुरोध गरेका छन् । साथै अभिभावकमा पनि संक्रमणको चिन्ता झनै बढेका कारण यो बर्षका मुख्य चाडहरु खल्लोमै बित्ने देखिएको छ । ‘कोरोना भाइरसले आफन्त भन्दैन, जोसुकैबाट पनि सर्न सक्छ, त्यसैले सबै छोरी चेलीहरुलाई घरमै तीज मनाउन आग्रह गरेको छु’, घोराही उपमहानगरपालिका-१० नारायणपुरका एक अभिभावकले भने- ‘बाँचियो भने अर्को साल धुमधामसाथ तीज मनाउँला । यस्तै अनुभूतिबीच यो बर्षका पर्वहरुलाई स्वागत गरिँदै छ ।
चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुले समेत पर्वलाई सामाजिक दूरी कायम गरी मनाउन सुझाव दिएका छन् । आफन्त भनेर सबैले सबैलाई विश्वास गर्ने अवस्थासमेत नरहेको भन्दै उनीहरुले हरेक व्यक्ति एकले अर्कालाई शंकाको नजरले हेरेर सामाजिक दूरी कायम गर्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । भाइरस कुन व्यक्तिलाई कुन माध्यमबाट सर्न सक्छ भन्ने समेत अझैसम्म अनुसन्धानकै क्रममा रहेको स्मरण गर्दै चिकित्सकहरुले कम्तीमा पनि पर्वका समयमा हुने जमघट कम गरेर पनि संक्रमणको सम्भावनाबाट धेरै हदसम्म जोगिन सकिने सुझाव दिएका छन् ।
बर्ष दिनको एकपटक आउने महिलाहरुको महान चाड हरितालिका तीज । यो बर्ष पनि आज मनाइँदै छ, तर गत सालको जस्तो उत्साह र उमंगका साथ होइन । व्रत बस्नेहरुले समेत कोरोना भाइरसको औषधि निर्माण होस् भनेर प्रार्थना गर्नुपर्ने अवस्था देखिएको छ । बर्ष दिनमा माइती आफन्तहरुको घरमा छोरी बहिनीहरु आउने, जम्मा हुने र एकआपसमा सुख-दुःख साटासाट गरी नाचगान गरी रमाइलो गर्ने पर्व तीज यस पटक भने कोरोना भाइरसको संक्रमणसँगै सो पर्व खल्लो र जमघट नहुने अवस्था छन् । कोरोना भाइरसको संक्रमण रोक्न भीडभाड नगर्न/नगराउन र जम्मा भएर नाचगान नगर्न पनि प्रशासन र स्थानीय सरकारले रोक लगाएको छ ।
घरमै बसेर तीज मनाउन जनप्रतिनिधिको सुझाव

ad


यसैबीच नेपाली नारीहरुको महान चाड हरितालिका तथा ऋषि तर्पणी पर्वलाई घरमै बसेर मनाउन स्थानीय सरकारका महिला जनप्रतिनिधिहरुले सुझाव एवं शुभकामना दिएका छन् । कोभिड-१९ को जोखिम कायमै रहेकाले यस बर्षको तीज घरमै मनाउन सर्वसाधारणलाई उनीहरुले आग्रह गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले यस बर्षको तीज सबैले आफ्नो घरमा नै मनाउन आग्रह गरिन् । उनले दिदीबहिनीहरु एक ठाउँमा ठूलो संख्यामा जम्मा हुने र रमाइलो गर्ने कार्यले कोभिड-१९ को संक्रमण हुनसक्ने भन्दै उनले आ-आफ्नो घरमा तीज पर्व मनाउन आग्रह गरिन् ।

ad

‘म सम्पूणर् नगरवासी तथा देश-विदेशमा रहनुहुने दिदी-बहिनीहरुलाई तीजको शुभकामना दिन चाहन्छु र अनुरोध पनि गर्न चाहन्छु, यस बर्षको तीज घरमै मनाऔं’, उपप्रमुख शर्माले भनिन् । उनले सबैलाई सचेत भई जोखिमलाई ध्यानमा दिएर पर्व मनाउन आग्रह गरिन् । शर्माले पर्वभन्दा पनि मानिसको जिउ-ज्यान प्यारो भएको भन्दै मान्छेको ज्यान बचे अर्को साल रमाइलो गरी मनाउन सकिने बताइन् । उनले ठूलो संख्यामा जमघट नगर्न र सामाजिक दूरी कायम गरी सचेत हुन पनि सबैलाई अपिल गरिन् ।

तीज फाइल फोटो


त्यस्तै घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले पनि सबै दिदी-बहिनी नगवासीलाई शुभकामना दिँदै सबैलाई आफ्नो घरमा तीज मनाउन आग्रह गरिन् । ‘बाँच्नु ठूलो कुरा हो, पहिले बाँचौ र बचाऊ यस्ता पर्वहरु फेरि पनि आउँछन्’, न्यौपानेले भनिन् । उनले सचेत भएर सामाजिक दूरीका साथै स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मनाउन सबैलाई आग्रह गरिन् । ‘अहिले कोरोनाको जोखिम कायमै छ, जमघट र भेला र एकै स्थानमा बसेर रमाइलो गर्ने समय छैन, भोलि परिस्थिति अनुकूल भए पर्व मनाउँला’, उनले भनिन् । न्यौपानेले आ-आफ्नै घरमा बसेर परिवारसँग मिलेर तीज मनाउन सबैलाई आग्रह गरिन् । कोभिड-१९ को जोखिम कायमै छ, यस्तो अवस्थामा आफू पनि बच्नुपर्छ, अरुलाई पनि बचाउनुपर्छ, मानिसको ज्यानभन्दा ठूलो पर्व होइन, पर्व फेरि पनि आउँछन् फेरि मनाम्ला, म सबैलाई आफ्नै घरमा तीज पर्व मनाउन आग्रह गर्न चाहन्छु’, न्यौपानेले भनिन् ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले पनि यस बर्ष तीज पर्व सबैले घरमा नै मनाउन आग्रह गरेकी छन् । उनले सम्पूणर् महिला दिदी-बहिनी तथा सबैलाई शुभकामना दिँदै स्वास्थ्य सतर्कता र सामाजिक दूरीलाई ख्याल गरेर तीज पर्व मनाउन आग्रह गरिन् । ‘अहिले कोभिड-१९ को जोखिम कायमै छ, यो बेला संक्रमणबाट बच्ने-बचाउने समय हो, त्यसैले सबैलाई सुरक्षित रहन र हुन म आग्रह गर्न चाहन्छु’, उनले भनिन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु