जिल्लामा थप कडा हुनसक्छ

दाङमा कोरोना संक्रमणको दर ३/४ दिनयता उच्च देखिएको छ । जिल्लामा दैनिक सरदर ५० जना कोरोना संक्रमण फैलदै जान थालेको छ । जिल्लामा दुई ५० को हाराहारीमा संक्रमण दर फैलिसकेको छ । तर लकडाउन केहिदिन यता खुकुलो बनेको छ । जसले गर्दा संक्रमणको जोखिम बढेको छ । समग्र जिल्लाको अवस्था कस्तो र व्यवस्थापनको तयारीलगायतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल स“ग टुडे वार्तामा कुराकानी गरेका छौं ।

ad

दाङमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

दाङमा पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गएको अवस्थामा हामी बुधबार बिहान बैठक बस्यौँ । बन्दाबन्दीको समय लम्बिदै गएपछि जनजीवन कष्टकर बनेको थियो । त्यसैलाई मध्यनजर गरी सरकारको निर्णय अनुसार दाङमा केहि दिनदेखि लकडाउन खुकुलो बन्दै गएको थियो ।

ad

अब त्यसलाई फेरि केहि कडाई गर्ने निर्णय गरेका छौँ । साँझ ५ बजेदेखि सम्पूर्ण व्यापार, व्यवसाय बन्द गर्ने, अत्यावश्यकबाहेक अन्य आउजाउ बन्द गर्ने निर्णय गरेका छौँ । त्यस्तै कोरोना परिक्षणको दायरा जतिसक्दो फराकिलो बनाउने निर्णय गरेका छौँ ।

ad

क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउने निर्णय गरेका छौँ । आइसोलेसन बेड संख्या बढाउन सकिने विषयमा पनि छलफल भएको छ ।

ad

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिसकेको छ, तर तपाईहरूको अहिलेको निर्णयले संक्रमण रोकथाम हुन्छ होला जस्तो लाग्दैन् ?

समुदायस्तरमै फैलिसकेको भन्न मिल्दैन् तर समुदायस्तरमा पर्याप्त सावधान अपनाउन सकिएन भने फेरि भयावह स्थिति नआउला भन्न सकिदैन् । हामीले लकडाउन कडाई गरेकै छौँ । अहिलेलाई बेलुकामात्रै बन्द गर्ने निर्णय भएपनि भोलिका दिनमा स्थिति अझै नाजुक बन्दै जाने अवस्था आयो भने थप परिमार्जन गर्न सकिने छ ।

नागरिक पनि थप सजह हुन जरूरी छ । सरकारले लकडाउन खुकुलो बनायो भन्दैमा स्वास्थ्य सुरक्षा सावधानी नै नपाउने, सामाजिक दूरी कायम नगर्ने हो भने त फेरी अवस्था झनै जटिल बन्न सक्छ । हामीले फेरि पनि आग्रह गछौँ । कृपया तपाई जहाँ हुनुहुन्छ त्यहि बसिदिनुस्, बाहिर निस्कनै परेमा स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बाहिर निस्कनुस् ।

साँझ ५ बजेपछिको लकडाउन प्रभावकारी होला र ?

हामीले अहिलेलाई प्रभावकारी हुन्छ कि भनेर नै निर्णय गरेका हौँ । दिउँसोमा बजार खुलेपनि नागरिकले सावधानी अपनाएर किनमेल गर्छन् । व्यवसायीले पनि सावधानी अपनाएर बिक्री वितरण गर्ने गरेको पाइन्छ । तर साँझमा बढी असुरक्षित देखेर नै यस्तो निर्णय गरेका हौँ ।

साँझमा होटेलहरू पनि खुल्न थाले । जसले गर्दा मानिसहरूको भिडभाड बढ्न थाल्यो । सावधानी पनि कम अपाउने गरेको पाइएको हुँदा अहिलेलाई साँझ नै अलि बढी कडाई गर्ने निर्णय गरेका छौँ । फेरि अझै जटिल स्थिति आउन थालेपछि दिउँसोमा पनि कडाई गर्न सकिन्छ ।

फेरी त्यो भन्दैमा अहिले दिउँसोमा खुकुलो छ भन्ने होइन् । दिउँसोमा पनि लकडाउन कडा नै छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जोरबिजोर प्रणाली कार्यान्वयन गरेका छौँ ।

जोर गतेका दिन जोर नम्बरका सवारी साधन, बिजोर गतेका दिन बिजोर सवारी साधन सञ्चालनमा आउने गरेका छन् । मोटरसाइकलमा एकजनामात्रै बस्ने, चारपांग्रै गाडीमा दुई जनाभन्दा बढी बस्न नपाउने नियम कडाई गरेका छौँ ।

साँझ ५ बजेपछिको बन्द बिहान कति बजेसम्म हो ?

अहिलेलाई बिहान ठ्याक्कै यति बजेसम्म भनेर भनिएको छैन् । जेहोस् साँझको समयमा लकडाउन पूर्ण कार्यान्वयन हुन्छ भन्ने विश्वास छ । दिउँसोको तुलनामा साँझ लकडाउनलाई थप कडाई गरिएको हो । रातिमा पूर्णरूपमा बजार बन्द हुने हो । अझ बजारभन्दा पनि आवातजावत, होहल्ला सबै बन्द हुने हो ।

मोटरसाइकलमा एकजना बस्ने नियम सान्दर्भिक भएन कि भन्ने व्यापक आलोचना छ के भन्नुहुन्छ ?

यस्तो नियम केन्द्रबाट आएको हुँदा हामीले त्यसलाई बदल्न सक्ने अवस्था छैन् । दुईजना बस्दा संक्रमणको जोखिम बढी हुने भएकाले सकेसम्म एकजना नै बसिदिनुस् भन्ने आग्रह हो ।

केन्द्रको निर्णयलाई हामीले पछ्याएको मात्रै हो । हामी आफैले यो निर्णयलाई परिवर्तन गर्न सकिदैन् । मोटरसाइकल मात्र नभएर गाडीमा पनि हामीले २/३ जनामात्रै बस्न मिल्ने व्यवस्था गरेका छौँ । त्यसैले मोटरसाइकलमा एकजनामात्रै बस्न मिल्ने नियम अव्यवहारिक होइन् ।

प्रशासनले निर्णय गर्ने, व्यवसायीले कार्यान्वयन नगर्ने गरिएको पाइन्छ नि ?

हैन, त्यस्तो हुँदैन् । पहिले केही छिटफुट रूपमा त्यस्तो भएपनि अहिले गरेको निर्णय कार्यान्वयन हुन्छ भन्नेमा विश्वासमा छौँ । व्यवसायी पनि स्वयम् सचेत हुनुहुन्छ । तर उहाँहरूका केही बाध्यता पनि होलान् । यस्तो समयमा हामीले उहाँहरूलाई भन्ने भन्दा पनि उहाँहरू स्वयम् सचेत हुनुभयो भने राम्रो हुन्छ ।

पसलमा सामान किनमेल गर्दा कम्तिमा पनि सामाजिक दूरी कायम गरिदिनुभयो भने राम्रो हुन्छ । ग्राहकले पनि सोहि अनुसार नियमलाई पालना गरिदिनुपर्छ । प्रशासनले गरेको निर्णय व्यवसायीले नमान्ने भन्ने हुँदैन्, उहाँहरू आफैले गरेको निर्णय नै हो, कार्यान्वयन हुन्छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्मा तत्कालै निर्णय गर्न किन सक्दैन् ?

विपद्मा हामीले जतिसक्दो छिटो गरेका छौँ । हामीले त निर्णय ढिला गरेको जस्तो लाग्दैन् । कोरोनाको संकटको समयमा पनि हामीले जतिसक्दो छिटो निर्णय गरेका छौँ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै जान थालेपछि हामीले बुधबारको निर्णय गरेका हौँ । यस्तो अवस्थामा पनि संकटको सामान गर्न तत्कालै निर्णय गरिएको छ ।

प्रस्तुतिः जीतसागर जी.एम.


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु